"सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा"

इतिहास : सुदूरपश्चिमको दुर्गम पहाडी क्षेत्रमा स्वास्थ्य सेवाको दियो बाल्ने संकल्पका साथ विक्रम संवत २०३९ सालमा अछाम जिल्लाको तत्कालीन बयालपाटा गाउँपञ्चायत (रिडीकोट) मा भौतिक संरचनाहरू निर्माण गरिए। तर, समयको प्रतिकूलता र विविध कारणले ती संरचनाहरू लामो समयसम्म अस्पतालको रूपमा जीवन्त हुन सकेनन्। २०५८ सालको द्धन्द्ध र असहज परिस्थितिले थलिएका यस क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा ल्याउनु एउटा ठूलो चुनौती र आवश्यकता दुवै थियो। यही आवश्यकतालाई आत्मसात गर्दै सन् २००८ (वि.सं. २०६४) मा अमेरिकामा अध्ययनरत नेपाली र अमेरिकी चिकित्सकहरूको पहलमा 'न्याय हेल्थ नेपाल' नामक गैरसरकारी संस्थाको स्थापना भयो। नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँगको ऐतिहासिक साझेदारीमा सुरुमा साँफेबगरबाट प्राथमिक बहिरंग र आकस्मिक सेवा सुरु गरियो। साँफेबगरको सेवा प्रभावकारी भएपछि २०६५ साल भदौ ५ गते स्वास्थ्य मन्त्रालयसँगको सम्झौता बमोजिम बडेलगडामा रहेका पुराना संरचनाहरूलाई प्रयोगमा ल्याई 'बयालपाटा अस्पताल' को विधिवत् सञ्चालन आरम्भ भयो।

१७ वर्षको गौरवमय यात्रा र प्रभाव : सुरुवातमा १५ शय्याबाट सेवा थालेको यो अस्पताल क्रमशः २५ हुँदै ५० शय्याको सुविधासम्पन्न अस्पतालमा रूपान्तरण भयो। 'पसिबल' (Possible) र विभिन्न वैदेशिक दातृ निकायहरूको सहयोगमा न्याय हेल्थ नेपालले झन्डै १७ वर्षसम्म यस अस्पताललाई मानवीय सेवाको उत्कृष्ट नमुनाका रूपमा सञ्चालन गर्यो। सामान्य उपचारका लागि पनि नेपालका ठुला सहर तथा भारतीय सहरहरू धाउनुपर्ने बाध्यतामा रहेका अछाम, डोटी र बाजुराका नागरिकका लागि यो अस्पताल 'बरदान' सावित भयो। निःशुल्क र गुणस्तरीय सेवाकै कारण यसले देशभरमै एक उत्कृष्ट र नमुना स्वास्थ्य संस्थाको पहिचान बनाउन सफल रह्यो।

प्रादेशिक गौरवको नयाँ अध्याय : संस्थागत दिगोपना र राज्यको स्वामित्वलाई सुनिश्चित गर्न वि.सं. २०८२ साल असार २२ गते सुदूरपश्चिम प्रदेश सरकार (सामाजिक विकास मन्त्रालय) र न्याय हेल्थ नेपालबीच ऐतिहासिक द्विपक्षीय सम्झौता भयो। सोही अनुरूप २०८२ भदौ १ गतेदेखि यो अस्पताल प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहत आई 'बयालपाटा प्रादेशिक अस्पताल' को रूपमा सञ्चालनमा रहेको छ।

हाम्रा सेवाहरू

"सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवा" भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै अस्पतालले स्वास्थ्य बिमा र सामाजिक सेवा एकाइ सहित निम्न विशेषज्ञ सेवाहरू प्रदान गर्दै आएको छ:

  • विशेषज्ञ सेवाहरू: हाडजोर्नी, जनरल सर्जरी, प्रसूति तथा स्त्री रोग विशेषज्ञ सेवा।
  • आधारभूत सेवाहरू: २४ सै घण्टा आकस्मिक सेवा, बहिरंग (OPD) तथा अन्तरंग (IPD) सेवा।
  • निदान सेवा: आधुनिक प्रयोगशाला (Lab) र डिजिटल एक्सरे र सशुल्क तथा निःशुल्क फार्मेसी।
  • विशिष्ट क्लिनिक: मानसिक स्वास्थ्य, दन्त सेवा, एचआईभी उपचार तथा परामर्श (ART), एमडिआर क्षयरोग (MDR-TB) र खोप क्लिनिक।
  • प्रजनन स्वास्थ्य: सुरक्षित गर्भपतन लगायतका सेवाहरु।

आज बयालपाटा प्रादेशिक अस्पताल अछाम मात्र नभई सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाको रेफरल सेन्टर तथा नागरिकहरुको आशा भरोसाको केन्द्र बनेको छ, जहाँ भूगोलको विकटताले उपचारमा बाधा पुर्याउँदैन। अत्याधुनिक प्रविधि (EHR) को संगममार्फत हामी प्रत्येक नागरिकको स्वास्थ्य अधिकारको रक्षा गर्न र गुणस्तरीय सेवा प्रदान गर्न कटिबद्ध छौँ।